शिविरमा आगोलागी, १०१ छाप्रा नस्ट !
डिकेश लामा, युवराज विवश
झापाको दमकस्थित भूटानी शरणार्थी शिविर बेलडाँगी २ मा मंगलबार अपरान्ह भएको भिषण आगलागीका कारण १०१ वटा छाप्रा नष्ट भएका छन् ।
बेलडाँगी २ सेक्टर सी/४ छाप्रा नं. २१ का तीर्थराज मिश्रको घरबाट एक्कासी अपरान्ह पौने २ बजेतिर आगलागी शुरू भएको स्थानीय सशस्त्र प्रहरी सुरक्षा बेश बेलडाँगी जानकारी दिएको छ ।
आगलागीबाट ६३ छाप्रा पूर्ण रुपमा जलेर नष्ट भएको छ भने आगो नियन्त्रण गर्ने क्रममा ३८ घर भत्काइएको शिविर व्यवस्थापन समिति प्रशासन प्रतिनिधि चन्द्रबहादुर तिवारीले जानकारी दिएका छन् । आगोबाट भौतिक क्षतिको विस्तृत विवरण नआइसकेको भए पनि कुनै मानवीय क्षति भने नभएको प्रहरीले जानकारी दिएको छ ।
आगलागीबाट शरणार्थीहरुको लत्ता, कपडा, भाँडाकुँडा, खाद्यान्य तथा महत्वपूर्ण कागजात जलेर नष्ट भएका छन् । आगोबाट शरणार्थीहरुले पालेका खसी, बाख्रा, खरायो र पंक्षीहरु समेत जलेर मरेका छन् ।
शुरु भएको २ घण्टा ३० मिनेटमा दमकका २ वटा, मेचीनगर, इटहरी र भद्रपुरका सहित ५ वटा दमकलबाट आगलागि नियन्त्रणमा लिइएको थियो ।
आगलागीबाट विचल्नीमा परेका ८६ घर परिवारका लगभग ४ सय शरणार्थीलाई सामुहिक खाना तथा सुत्ने व्यवस्था मिलाएको आजै दातृ निकाय सहितको बैठकले निर्णय गरेको छ । पीडित शरणार्थीहरुलाई युवा मैत्री केन्द्रको भवन अगाडि शिविर व्यवस्थापन समिति, महिला मञ्च लगायतले सामुहिक खानपिन गराउने निर्णय भएको शिविर व्यवस्थापन समितिले जानकारी दिएको छ । आगो कसरी लाग्यो भन्ने विषयमा हालसम्म कुनै कारण नखुलेको भए पनि ग्याँस चुल्होबाट भएको आशंका गरिएको छ ।
बेलडाँगी २ शिविर सेक्टर सी ४ छाप्रा नम्बर ३१, ३२ का रत्नबहादुर अधिकारीले आगलागीमा परेर ३ लाख रुपैयाँ नगद सहित २ वटा बाख्राहरु समेत जलेको बताए ।
शिविरमा आगो लागेपछी शरणार्थीहरुले धनमालको सुरक्षाका लागि एकै स्थानमा जम्मा गरेका थिए । कतिपय शरणार्थीहरु छाप्रामा नभएका कारण धेरै क्षति भएको थियो ।
यता आगलागीबाट बिस्थापित भएका शरणार्थीहरुलाई शरणार्थीलाई शैक्षिक सहयोग गर्दै आएको सस्था क्यारितास नेपालले सहयोग गर्ने भएको छ । क्यारितास दमकका प्रंमुख फादर अमलराजले आगलागीबाट बिचल्लीमा परेका शरणार्थीहरुलाई आज बेलुका चिउरा र तरकारीको बन्दोबस्त गरिदिने बताए । उनले भोली बिहान बिद्यार्थी र अशक्तहरुलाई खाजाको ब्यवस्था गरिदिने बताए ।

शरणार्थी सम्बन्धी राष्ट्रसघीय उच्चायोगले शिविरमा भएको बिपत्तिका बारेमा छलफलपछि मात्र शरणार्थीहरुलाई दिन सकिने सहायताका बारेमा भन्न सकिने जनाएको छ ।
शिविर व्यवस्थापन समितिका सचिव धनबिर सुब्बाले शरणार्थी शिविरमा भएका बाक्ला खरका छाप्रा भएका कारण समेत आगलागी बढेको बताए । उनले आगलागीबाट बिचल्ली बनेका शरणार्थीहरुलाई खाद्यान्न र राहत उपलब्ध गराउन माग गरे।
प्रत्येक बर्ष भुटानी शरणार्थी शिविरमा हुने आगलागीबाट हज्जारौं घर जल्ने गरेका छन् । खर, बाँस र प्लाष्टिकले बनेका बाक्ला घर भएका कारण शिविरमा आगो क्षणभरमै फैलिइ धेरै क्षति हुने गरेको छ ।
यसैबीच यता विचल्नी परेका शरणार्थी परिवारलाई क्यारिटस नेपाल चिउरा, सव्जी, तेल उपलव्ध गराएको छ । भूटानी बौद्धिक समूह, शरणार्थीहरुले मिलेर सामुहिक खाना खुवाएका छन् । जिल्ला प्रशासन कार्यालय झापाका प्रमुख जिल्ला अधिकारी नरेन्द्रराज शर्मा, सहायक प्रमुख अधिकारी योगेन्द्र दुलाल सहितको टोली आगालागी क्षेत्र मंगलबार साँझमा भ्रमण गरी ७ परिवारलाई २ हजार रूपैयाँका दरले नगद प्रदान गरेका छन् । भोलि बुधबार जिल्ला दैवी प्रकोप झापाको सहयोगमा नेपाल सरकार पदाधिकारीबाट विस्तापित परिवारलाई नगद वितरण गर्ने प्रमुख जिल्ला अधिकारी शर्माले बताए । शर्माका अनुसार पूर्ण जलेको घरलाई २ हजार र भत्काइएकालाई १५ सय रूपैयाँ नगद वितरण गरिने भएको छ । अवलोकनको क्रममा शर्माले पीडित शरणार्थीहरुप्रति सहानुभूति प्रकट गरेका छन् । - PurbeliTimes